

माडी, चितवन । २६औं माडी गोल्डकपको फाइनलमा अफ्रिकी टीम माबोय एफ.सी.लाई ४-० गोलअन्तरले स्तब्ध पार्दै नेपाली टीम प्याराडाइज युवा क्लब रत्ननगर बिजयी भएको छ । अफ्रिकी देश बुर्किनाफासोको पाहुना टोलीबिरुद्धको खेलमा सुरुवातबाटै हाबी भएका नेपाली क्लब प्याराडाइज एफ.सी.का खेलाडीहरुले हजारौं दर्शकहरुको उपस्थितिविच एकपछि अर्को गोल थप्दै उपाधी चुमेका हुन् ।

बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालित सो गोल्डेन इमिनेन्ट २६औं माडी गोल्डकपको उपाधी जितेसंगै प्याराडाइज एफ.सी.ले नगद रू ३ लाख र उप-विजेता माबोय एफ.सी.ले नगद रू १ लाख ५० हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टीमलाई माडी नगरप्रमुख ताराकुमारी काजी महतो र गोल्डेन इमिनेन्ट इन्टरनेशनलका सञ्चालक प्रकाश रिजाल लगायतले पुरस्कार एवं प्रमाण-पत्र वितरण गर्नुभयो ।


प्रतियोगिता भव्यतापूर्वक सकिँदै गर्दा माडीका खेलाडी सन्देश महतोले राइजिङ प्लेयर पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, माडी ११ टीमकै खेलाडी समिर लामिछानेलाई स्थानीय सर्बोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिएको छ । यसबाहेक, प्रतियोगिताको बेष्ट गोलकिपर प्याराडाइज युवा क्लबका अभिषेक बराल, बेस्ट डिफेन्स माबोय एफ.सी. बुर्किनाफासोका पोरा फोरेन्ट, बेस्ट मिडफिल्ड प्याराडाइजका खमिर गिल्सन र फेयर प्ले टिम माडी ११ घोषित भएका छन् ।

यस्तै, बेस्ट कोच प्याराडाइजका चन्दन चौधरी, बेस्ट टिम म्यानेजर प्याराडाइजकै सुर्य गोदार थापा, सर्बाधिक गोलकर्ता अफ्रिकक टीमका फोडे फोफोना र सर्बोत्कृष्ट खेलाडी प्याराडाइजका दिपेश आलेमगर घोषित हुनुभयो । सबै उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार सहित शिल्ड र मेडलबाट सम्मानित गरिएको थियो । (फोटोमा राइजिङ प्लेयर सन्देश महतो)