

माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव स्वीकृत गर्दै पुल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।
स्वीकृत ठेक्काहरुमध्ये सर्बाधिक लागत राशीको पुल सोमेश्वरगढी जाने बाटोमा रहेको मगोई नदीमा निर्माण हुनेछ । करीब ४ करो ६५ लाख रुपैंया लागतको सो ठेक्का पाठक कन्स्ट्रक्सन एवं प्रसाद कन्स्ट्रक्सन र गुड जे.भी.ले पाएको छ ।

त्यस्तै, पुलको स्ल्याब भाँचिएको लामो समयसम्म निर्माण नभएको भनी भाइरल भएको माडी-१ लक्ष्मुनियाँस्थित डाङ्ग्रे खोलामा कल्भर्ट निर्माण (बजेटः २ करोड १८ लाख) को ठेक्का सौरभ निर्माण सेवा भरतपुर १२ ले पाएको छ । यसबाहेक, माडी-३, रतनीस्थित रौतनी खोलामा पुल निर्माण (बजेटः ३ करोड ५८ लाख)को ठेक्का ओम निर्माण सेवा काभ्रेले पाएको छ ।

यस्तै, माडी-५ र ६ जोड्ने स्थानको रौतनी खोलामा पुल निर्माण (बजेटः २ करोड ७२ लाख), माडी-८ स्थित भालुनालामा पुल निर्माण (बजेटः २ करोड ९ लाख) र माडी-९मा बगहीं खोला पुल निर्माण (बजेटः ३ करोड ३० लाख रुपैंया)को ठेक्का छुट्टाछुट्टै जे.भी.मा माडीकै आर.एन. सफल कन्स्ट्रक्सनले पाएको छ ।