माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समितिले मध्यवर्ती निर्वाचनमा सहभागी हुने निर्णय गर्दै चुनाव परिचालन समिति गठन गरेको छ ।
शनिवार सम्पन्न राप्रपा माडी नगर समितिको बैठकले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीमा रहेको मध्यवर्ती उपभोक्ता समितिहरुको पदाधिकारी चयनका लागि हुने आसन्न निर्वाचनमा सहभागिता जनाउने निर्णय गर्दै तुल्सिङ गुरुङको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

निर्वाचन परिचालन समिति सदस्यहरुमा अप्सरा पराजुली, ताराबहादुर धमला, ओमप्रकाश महतो, गीता महतो, हाइराम बि.क., काशीमाया तामाङ, गणेश अधिकारी, राजकुमार परियार, गोविन्द दाहाल र चुनबहादुर घले रहनुभएको छ ।

रास्वपाले निर्वाचनमा सहभागिता नजनाउने औपचारिक निर्णय गरेको र सम्वृद्धिका लागि युवा अभियानका अभियन्ताहरुले हालकै अवस्थामा चुनाबी प्रक्रियामा सहभागी हुने दल र उम्मेदवारहरु बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको पृष्ठभूमिमा राप्रपाले औपचारिक निर्णय गर्दै आफ्नो ‘कित्ता क्लियर’ गरेको हो ।

यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समितिको प्रवक्तामा हरिकृष्ण महतो चयन हुनुभएको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर समितिको बैठकले समितिका उपाध्यक्ष समेत रहनुभएका माडी-३, इनारबरुवा गाउँ निवासी हरिकृष्ण चौधरीलाई सर्बसम्मत प्रवक्ताको जिम्मेवारी दिएको नगर अध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । यसअघि, राप्रपा नगर प्रवक्ताको जिम्मेवारीमा संजय काजी रहनुभएको थियो ।

