माडी, चितवन । शिक्षा, स्वास्थ्य, प्रशासन, कृषि, खेलकूद, सरसफाई र करदाताका रुपमा उत्कृष्ट गरी दुई दर्जन बढी व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ ।
माडी नगरपालिकाले विहीबार नगर कार्यपालिकाकै सभाहलमा नगरसभाको चौथो बैठक सम्पन्न गरेको हो । यसअघि तीनवटा बैठकहरु माडी भिलेज रिसोर्टमा सञ्चालन गर्दा आलोचना खेपेको पालिकाले चौथो बैठक आफ्नै सभाहलमा सञ्चालन गरी त्यसलाई सुधार्ने प्रयास गरेको देखिन्छ ।

यसअघि, असार ९ गते सम्पन्न नगरसभाको पहिलो बैठकमा माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९२ करोड ६६ लाख ८८ हजार रूपैंयाको बजेट सर्बसम्मत पारित गरेको थियो । नगरसभाको दोश्रो र तेश्रो बैठकबाट केहि नीतिगत निर्णय र कार्यविधिहरु पारित भएका थिए ।

कार्यालय सहयोगी मायादेवी अधिकारी नगरको उत्कृष्ट कर्मचारी

माडी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी मायादेवी अधिकारी नगरको उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुनुभएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको नगर सभाको १५औं अधिवेशनको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतराज भुसालले नगरमा कार्यालय सहयोगी पदमा कार्यरत अधिकारीलाई नगदसहित कदरपत्रले सम्मान गर्नुभएको हो ।
प्रशासन र प्राविधिक शाखाका कर्मचारीत्रय सम्मानित
माडी नगरपालिकाले प्रशासनतर्फ कार्यरत कर्मचारीद्वय डा. रविन बस्ताकोटी र अमृत रामदाम एवं प्राविधिक शाखाप्रमुख ई. युवराज महतोलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको छ ।

नगर कार्यपालिका कार्यालयको १५औं नगर सभाको चौथो बैठकका अवसरमा पशुपंक्षी तथा मत्स्य सेवा शाखाप्रमुखका रुपमा कार्यरत डा. बस्ताकोटी र प्रशासन शाखामा सहायक पाँचौ तहमा कार्यरत अमृत रामदामलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद सहित कदरपत्रले सम्मानित गरेको हो । त्यसैगरी प्राविधिक शाखाप्रमुखका रुपमा कार्यरत ई. महतो समेत उत्कृष्ट कर्मचारीका रुपमा नगद सहित कदरपत्रले सम्मानित हुनुभयो ।

