चितवन खबर पोष्ट

माडीसंगै पश्चिम चितवनको विध्युतमा जारी अवरोध हटाउन १ महिनासम्म लाग्ने प्राधिकरणको भनाइ

माडी, चितवन । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विध्युत आपूर्तिमा बारम्बार आइरहेको अवरोध हटाउने पहल भइरहेको र यसका लागि १ महिनासम्म लाग्ने जनाएको छ ।

केन्द्रका अनुसार हालको अवस्था व्यवस्थापन गर्न देवनगर सबस्टेसन एकमात्र विकल्पका रूपमा रहेको छ, तर सो सबस्टेसन पनि हाल पर्सा सबस्टेसनको लोडसमेत बहन गर्दै पूर्ण क्षमतामा सञ्चालनमा छ । करिब एक महिनाभित्र पर्साको केही लोड हर्दी सबस्टेसन, भण्डाराबाट स्थानान्तरण गर्ने योजना रहेको र देवनगर सबस्टेसनबाट जगतपुर फिडरमा थप २०० एम्पियर लोड आपूर्ति गर्ने योजना अनुसार ओभरलोडको समस्या समाधान हुने केन्द्रको आँकलन छ ।

यसैबिच, पश्चिमी चितवन र माडी क्षेत्रमा बिजुली आपूर्तिमा भइरहेको अवरोध न्यूनिकरणको प्रयासमा नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले थ्रिफेज तथा टिओडी सिंचाई मिटरहरुमा राती १० देखि बिहान ५ बजेसम्म मात्रै विध्युत दिने भएको छ । वितरण केन्द्रमा ओभरलोड भएको भन्दै लोड व्यवस्थापनको प्रयासमा केन्द्रले थ्रिफेज र टिओडी सिंचाई मिटर भएका सिंचाई ग्राहकहरुलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्र बिजुली आपूर्ति उपलब्ध हुने व्यवस्था मिलाएको जनाएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार