माडी, चितवन — माडीको बरुवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले समितिको आगामी निर्वाचनमा आफू सहभागी नहुने घोषणा गर्नुभएको छ । दुई दशकदेखि निरन्तर अध्यक्ष पदमा रही नेतृत्व गर्दै आउनुभएका सापकोटाले एक प्रेस-नोटमार्फत अब उपभोक्ता समितिको निर्वाचनमा उम्मेदवारी नदिने जानकारी दिनुभएको हो ।
संरक्षण क्षेत्रमा सक्रिय योगदानको कदरस्वरूप अध्यक्ष सापकोटा वि.स. २०७४ सालमा विश्व वातावरण दिवसका अवसरमा क्षेत्रीय वन निर्देशनालयबाट सम्मानित हुनुका साथै वि.स. २०७० र २०८१ सालमा क्रमशः वन मन्त्रालय र नेपाली सेनाबाट सम्मानित हुनुभएको छ । उहाँको कार्यकालमा जैविक विविधता संरक्षण, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण, आयआर्जन, सीप विकास, संरक्षण शिक्षा तथा सामुदायिक उत्थानका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।

अध्यक्ष सापकोटाले उपभोक्ता समितिको औपचारिक संरचनाबाट बाहिरिएपनि माडीवासीहरूले भोग्दै आएका कानुनी जटिलताहरू समाधानका लागि समन्वय तथा सहकार्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै आफ्नो कार्यकालमा सहयोग गर्ने सबै सरोकारवाला पक्ष र उपभोक्ताहरुलाई धन्यवाद व्यक्त समेत गर्नुभएको छ ।


