चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् ।
भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा सामाजिक अभियन्ता तथा युवाहरूको टोली हनुमानझुला पुगी घर निर्माणका लागि जस्तापाता सहित ब्लाङ्केट, डस्ना, लत्ता–कपडा, भाँडाकुडा, लगायतका दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरणका क्रममा सोभियत थापाले पीडित परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको उल्लेख गर्दै नयाँ घर निर्माणका लागि समेत थप सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभयो ।

दुई सन्तानका पिता राजकुमार तमाडकी श्रीमती वर्षौंअघि घर छोडेर गएपछि उनले चार वर्षका छोरा र सात वर्षकी छोरीको पालनपोषण आफैं गर्दै आएका छन् । आगलागीपछि घरबारविहीन बनेका तमाडका लागि यसअघि हनुमानझुलाकै स्थानीयले समेत दैनिक उपभोग्य सामग्री सहयोग गरेका थिए ।
(फोटो: आगलागीबाट जलेको घर र राहत सामग्री प्रदान गर्दै ठोरीका युवाहरू ऋषी श्रेष्ठ, सन्तोष श्रेष्ठ, सुदिप थापा, सूर्य लामा, सूर्य खड्का, जगन्द्र पौडेल, प्रकाश खनाल लगायतको टोली)

