१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र राम कार्कीले संयुक्त रूपमा नयाँ राजनीतिक अभियान – ‘प्रगतिशील अभियान, नेपाल’ सुरु गर्नुभएको छ । सो अभियानमा अर्का नेतृ अञ्जना विशंखे पनि देखिनुभएको छ ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँहरूले नेपालमा कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्दै ‘तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता कार्कीले ‘नेपालमा अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटन भएको’ आरोप लगाउनुभयो । उहाँका अनुसार अहिले विभिन्न नामका पार्टीहरू भए पनि ती जनताको नजरमा अस्तित्वहीन भइसकेका छन्। उहाँले सच्चा कम्युनिष्टहरूलाई समाजवादी अभियानमा जुट्न आह्वान गर्नुभयो।

त्यसैगरी, पूर्वमन्त्री समेत रहनुभएका नेता जनार्दन शर्माले ‘यो अभियान नयाँ पार्टी नभई विखण्डित वाम र प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनतर्फ अघि बढाउने वैचारिक र राजनीतिक प्रयास’ भएको स्पष्ट पार्नुभयो। उहाँले भन्रुभयो, “विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।”
अभियानले जारी गरेको विज्ञप्तिमा ‘माओवादी आन्दोलनपछि कम्युनिष्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको’ उल्लेख छ। ‘नेपाली विशेषतायुक्त समाजवाद निर्माणमा जोड दिँदै सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई एकजुट हुन’ अभियानको आह्वान छ ।

