२५ कार्तिक, माडी । एक दशक अगाडि सञ्चालित विराट धनधान्यञ्चल ज्ञानमहायज्ञका क्रममा नगद, जिन्सी र भूमिदान गर्ने बोलकबोल गरेका तर दाखिला गर्न बाँकी दानदाताहरुलाई तत्कालै दानप्रदान गर्न माडी क्याम्पसले अनुरोध गरेको छ।
क्याम्पसले एक सूचना जारी गर्दै वि.सं. २०७३ साल फागुन २४ गतेदेखि चैत २ गतेसम्म बसन्तपुरमा सञ्चालन भएको महायज्ञमा सहयोग गर्ने सम्पूर्ण चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी, राजनीतिकर्मी तथा माडीबासी अभिभावकप्रति आभार प्रकट गर्दै ‘भुक्तान वा दानप्रदान गर्न बाँकी दाताहरूलाई उक्त सहयोगको अन्तिम व्यवस्थापनमा सहकार्य गर्न’ आग्रह गरेको छ।

क्याम्पसले स्नातकोत्तर तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले उक्त ज्ञानमहायज्ञ आयोजना गरेको थियो। महायज्ञबाट जम्मा ४ करोड २८ लाख २५ हजार ९४१ रुपैयाँ बोलकबोल भएको थियो। सोमध्ये १ करोड ९२ लाख ९० हजार ७११ रुपैयाँ मात्र नगद, जिन्सी र जग्गाका रूपमा संकलन भएको छ भने अझै २ करोड ३५ लाख ३५ हजार ३२० रुपैयाँ (नगद, जिन्सी र जग्गा) असुल गर्न बाँकी छ।


