देश-प्रदेश खबर पोष्ट

ओलीको आरोप: ‘कार्की सरकारलाई चुनाव गराउने अधिकारै छैन, संवैधानिक परीक्षण अदालतमै हुनुपर्छ’

६ मंसिर, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संवैधानिक रूपमा वैध ठहर्याउनै नसकिने दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको कडा आलोचना गर्नुभएको छ । राजधानी काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री कार्कीलाई “चुनाव गराउने पनि अधिकार नभएको” दाबी गर्नुभयो ।

“तपाईंसँग चुनाव गराउने अधिकार छैन। यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ। संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँ दिएको छैन। कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन”, उहाँको भनाइ थियो ।

उहाँले कार्की “आगजनी, लुटपाट र विश्वास मच्चाएर मात्रै सरकारमा पुगेको” दाबी गर्दै, हालै सार्वजनिक गरिएको नेताहरूविरुद्ध बोलेको भनिएको क्यासेटबारे समेत स्पष्ट जवाफ दिन माग गर्नुभयो ।

एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको दाबी गर्दै कसैको धम्की वा घेराबन्दीबाट नडराउने उहाँको उद्घोष थियो । एमालेलाई जिस्क्याउने वा उत्तेजित बनाउने काम नगर्न उहाँको चेतावनी थियो । त्यसैगरी, बारामा हालै भएको घटनापछि एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको निर्णयप्रति पनि उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार