१३ माघ, माडी । चुनाबी घरदैलो सुरु हुँदैगर्दा दलका कार्यकर्ताहरु सामाजिक सञ्जालमा झगडा गरिरहेका देखिन्छन्, तर चितवनका केहि चुनाबी प्रत्यासीहरूबिच भने गजबको हार्दिकता देखिएको छ ।
सोमबार माडीको बगहीं बसपार्क क्षेत्रमा नेकपा एमालेबाट चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फका उम्मेदवार शंकरराज थपलिया र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रेनु दाहालको भेट हुँदा हार्दिकतापूर्वक कुराकानी भएको हो । दुबैजनाले एकअर्कालाई शुभकामना व्यक्त समेत गरेका थिए ।

भेटमा नेकपा एमालेका नेताहरु शिवहरि सुवेदी र श्रीप्रसाद दवाडी एवं नेपाली कम्युनिष्ट पार्टीका नेता एवं प्रदेश सांसद ठाकुर ढकाल समेत सहभागी रहेका थिए । हाल, दलका कार्यकर्ताहरुबिच परस्पर चर्को आलोचना र गालीगलौज गर्ने कुसंस्कार बढेको देखिनु दुखद् भन्दै बौद्धिक तप्काले आ–आफ्नो एजेण्डामा स्वस्थ चुनाबी स्पर्धा हुनु राम्रो हुने धारणा व्यक्त गर्न थालेका छन् ।


