

शनि मन्दिरमा निर्माणाधिन १०८ शिवलिंगको अाज शनिवार एक कार्यक्रमबिच प्रदेश नं. ३ का पर्यटन मन्त्री माननीय अरुण नेपालले भूमी पुजन तथा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । पर्यटन मन्त्रीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजेपछि एक विशेष कार्यक्रमबिच १०८ शिवलिंगको शिलान्यास सहित भूमिपुजा गर्ने कार्यक्रम तय भएको शनि मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।

शनि मन्दिरलाई माडीकै नमुना धार्मिक पर्यटन गन्तब्य बनाउनका लागि १०८ शिवलिङ्ग स्थापना गर्ने अभियान चलेको र सो अभियानमा माडी लगायत भरतपुर, मकवानपुर, तनहुँ, पर्सा, बारा, लगायत क्षेत्रहरुका समाजसेवी वुद्धिजिवीहरुले एक एक शिवलिङ्ग दान गरी अहिलेसम्म ८३ वटा शिवलिंग स्थापना गर्ने दाताहरु निस्कसकेका मन्दिरका अध्यक्ष श्रीराम पण्डितले वताउनुभएको छ ।

माडीको धार्मिक पर्यटन वृद्धि गर्नका लागि दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले २०७४ चैत्र १५ गते स्थापना गरेको शनि मन्दिरमा हरेक शनिबार चितवन र वरपरका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । २०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी चैत्र रामनवमी र विजयादशमीमा पुजा सञ्चालन गरि सुरुवात गरिएको स्थानमा अहिले दक्षिण सोमश्वर कालिका, शिव, गणेश, हनुमान भैरव, शनि भगवानका मूर्ती साथै जोरसाल, हरिण, मृगजस्ता जङगली जनावर देखिने, माडीको सबैभन्दा ठुलो घण्टी, अग्लो त्रिशुल र माडीको दृश्यावलोकन गर्न सकिने भ्युप्वाइन्ट रहेकोले मन्दिरमा भक्तजन तथा पर्यटकहरु आउन लागेको मन्दिरका पुजारी कुलप्रसाद खनालले जनाउनुभयो । यस कार्यक्रमको मुख्य प्रवर्द्धकको रुपमा माडी नगर पर्यटन विकास समिति रहेको छ ।
