चितवन खबर पोष्ट

माडीमा तेस्रो परशुराम जयन्ती उत्सव बैशाख ७ मा, अष्टभुज युगल शिवलिङ्ग मन्दिरमा भव्य तयारी

२७ चैत, माडी । परशुराम धाम धार्मिक पर्यटन समिति माडीको आयोजनामा आउँदो बैशाख ७ गते तेश्रो परशुराम जयन्ती उत्सव मनाइने भएको छ । माडी–१ पाण्डवनगरस्थित परशुराम पार्क नजिकै देवता खोला किनारमा रहेको अष्टभुज युगल शिवलिङ्ग (गौरी शंकर) मन्दिरमा भगवान् परशुरामको जन्मजयन्ती भव्य रूपमा मनाइने समितिले जनाएको हो ।

परशुराम जयन्ती अन्तरगत बिहान ११ बजेदेखि विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन हुने समिति सम्बद्ध गंगाधर भुसालले बताउनुभयो । पछिल्लो दुई बर्षदेखि माडीमा परशुराम जयन्ती मनाउन थालिएको हो भने यस वर्ष कार्यक्रमलाई अझ भव्य बनाउने तयारी गरिएको आयोजकको भनाइ छ ।

परशुराम पार्कमा विश्वकै अग्लो २७ फिट उचाइको परशु (बञ्चरो) प्रतिस्थापन समेत भएको छ । हिन्दू धर्मअनुसार परशुराम सम्पूर्ण हिन्दू समाजका आदर्श एवं चिरञ्जीवी मानिन्छन् । स्थानीय धार्मिक कथनअनुसार माडीको गोद्धक क्षेत्रस्थित परशुराम कुण्डमा स्नान गरी भगवान परशुरामले आफ्नी माता रेणुकाको पापमोचन गरेका थिए ।

तपाईको प्रतिक्रिया