चितवन खबर पोष्ट

भरतपुर–माडी–ठोरी रुटमा सवारी भाडा घटाउन ‘जेनजेड चितवन’को माग, प्रशासनमा निवेदन पेश

२७ चैत, माडी । जेनजेड चितवनका प्रतिनिधिहरूले भरतपुर-माडी-ठोरी रूटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर घटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा निवेदन पेश गरेका छन्।

शुक्रबार पेश भएको निवेदनमार्फत हाल कायम गरिएको भाडादर दूरी र सडक अवस्थाको आधारमा उपयुक्त तथा न्यायोचित नभएको उल्लेख गरिएको छ। पछिल्लो समय माडी क्षेत्र सडक पहुँचका हिसाबले सहज बन्दै गएको र पूर्वजस्तो दुर्गम नरहेको अवस्थामा पनि पुरानै दर कायम रहनु उपभोक्तामाथि अन्याय भएको उनीहरूको भनाइ छ।

समूहले माडी क्षेत्रमा भौतिक पूर्वाधार विस्तार भइसकेकाले सवारी भाडादर पनि सोहीअनुसार समायोजन गर्न आवश्यक रहेको औंल्याएको छ। साथै, सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै भाडादर पुनरावलोकन गरी उपयुक्त र न्यायोचित दर कायम गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया