स्वदेशपोष्ट विशेष

गुप्तेश्वर मन्दिरमा मुर्ती अनावरण, रुद्रि पुजा तथा सम्मान कार्यक्रम सम्पन्न

माडीको बसन्तपुरस्थित गुप्तेश्वर महादेव शिव मन्दिरमा शिव मुर्ती अनावरण, रुद्रि पुजा, भजन किर्तन, बार्षिकी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

माडी नगरपालिका-३ बसन्तपुरको इलाका प्रहरी कार्यालय नजिकै रहेको सो शिवालय मन्दिरमा सयौं श्रद्धालु भक्तजनहरुका बिचमा शिवको मुर्ती प्रतिस्थापन गरिएको हो । मुर्ती प्रतिस्थापना गर्नुअघि झाँकीसहित बसन्तपुर बजारको परिक्रमा गरिएको थियो । मन्दिरका लागि आफ्नै हातबाट निर्मित करीब ३० हजार रुपैंया लागतको मुर्ती कावासोती-८ निवासी केशवराज सिग्देलले मन्दिर व्यवस्थापन समितिलाई सौजन्य गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त गुरागाईले स्वदेश एफ.एम.लाई बताउनुभयो । कार्यक्रममा गतबर्ष मन्दिरलाई करीब ५ लाख रुपैंया सहयोगस्वरुप आम्दानी भएको र त्यस कार्यमा गुप्तेश्वर भजन मण्डलीको विशेष योगदान रहेको उहाँले जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथिका रुपमा बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो सहभागी रहनुभएको थियो भने अतिथिका रुपमा मुर्तीकार केशवराज सिग्देल, स्वदेश एफ.एम.का अध्यक्ष देव नारायण शाह, माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो लगायत रहनुभएको थियो । यसअघि पनि गुरु पूर्णिमाको शुभ अवसरमा गुप्तेश्वर शिवालय मन्दिरमा बृहत् भजनकीर्तन, गुरु महिमा बाचन तथा माडीका अग्रज गुरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको थियो ।

( तस्वीर : माेहन स्याङतान )

तपाईको प्रतिक्रिया

ताजा समाचार