चितवन, ०१ श्रावण २०८३ — विद्यालय शिक्षातर्फ उत्कृष्ट नतीजा हासिल गरेका माडीका तीनवटा विद्यालयहरु सम्मानित भएका छन् ।
माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा कक्षा–८, एसईई र कक्षा–१२ परीक्षामा सामुदायिक विद्यालयहरूमध्ये सर्वाधिक उत्तीर्ण प्रतिशत हासिल गर्ने विद्यालयलाई जनही रु. ५ हजार नगद तथा कदरपत्र सहित सम्मान गरेको हो ।
कक्षा–८ आधारभूत तह परीक्षामा ९४.४४ प्रतिशत उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा ल्याएको जनजीवन माध्यमिक विद्यालय, माडी–८, खरकट्टा सम्मानित भएको छ ।

त्यस्तै, एसईई (कक्षा–१०) मा सामुदायिक विद्यालयहरूमध्ये सर्वाधिक ७८.३३ प्रतिशत उत्तीर्ण गराउन सफल दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी–५ ले सम्मान प्राप्त गरेको छ।
यस्तै, कक्षा–१२ (प्रवेशिका परीक्षा प्रमाणपत्र तह) मा ९३.७५ प्रतिशत उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा हासिल गरेको जनकल्याण माध्यमिक विद्यालय, माडी–६, कल्याणपुर पनि सम्मानित भएको छ ।
नगरपालिकाले बार्षिक रुपमा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालयहरुलाई नियमित रुपमा सम्मान गर्दै आएको छ । सोही कार्यक्रममै नगरले तीनवटै तहको परीक्षामा उत्कृष्ट नतीजा ल्याएका छात्र र छात्रा परीक्षार्थीहरुलाई समेत सम्मान गरेको थियो ।



