चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८२/८३ को तेश्रो चौमासिक तथा बार्षिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्वदेश एफ.एम.को सहजिकरणमा नगरसभाको सभाहल, बसन्तपुरमा सञ्चालित सो कार्यक्रममा सहभागी रहँदै नगरवासीहरुले विभिन्न प्रश्न, सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रश्न राख्दै माडी–७ निवासी हरि रानाभाटले भूमिगत सिंचाईको सट्टा सतही सिंचाइमा लगानी गर्न र रिचार्ज पोखरीहरु बनाउन सुझाव दिनुभयो । नगरका धेरै स्थानहरुमा अनावश्यक रुपमा टहराहरु निर्माण गर्नु औचित्यहीन रहेको, आत्म हत्याको घटना न्यूनिकरण गर्न मनोसामाजिक परामर्शको काममा ध्यान दिन, बसन्तपुर बजारमा पार्किङ ब्यवस्थापन गर्न एवं मगोइ नदीमा दाहसंस्कार स्थान निश्चित गरी तोक्न पनि प्रश्नकर्ता रानाभाटको सुझाव थियो ।
त्यसै माडी–९ निवासी जौमाया पौडेलले गोविन्दबस्तीबाट प्याउली जाने बाटो कालोपत्रे गर्न, भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जाको व्यवस्था गरिदिन, कृषि अनुदानमा घरायसी वा निर्वाहमुखी कृषकहरुलाई पनि समेट्न, सुकुम्बासी परिचयपत्र प्रदान गर्न र किसानहरुले तिर्नुपरेको ट्रयाक्टरको चर्को भाडादर घटाउन वा भाडामा अनुदानको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै माडी–३, इनारबरुवा निवासी हरिकृष्ण चौधरीले निकुञ्जको बाटोको दुबैतर्फ झाडी बढेकाले सफा गर्न अनुरोध गर्नुभयो । बनकट्टा गेटमा रहेको स्वागत बोर्ड डेन्टिङ पेन्टिङ गर्न, रीउको पुरानो पुल भाँसिदै गएकाले मर्मत गर्न, मगोई एव) बाँदरमुढे पुलको छेउमा कालोपत्रे गर्न साथै थारु संग्रहालय अलपत्र परेकाले ध्यान पुर्याउन पनि उहाँ अनुरोध गर्नुभयो ।
अर्का प्रश्नकर्ता, नागरिक समाज माडीका संयोजक रमाकान्त सापकोटाले मालपोत वा भूमि कर निकै उच्च रहेको गुनासो गर्नुभयो । चल्तीमा २ लाख पनि नपर्ने जमीनको मुल्य ६ लाख निर्धारण भएको भन्दै उहाँले भूमिकर समेत घटाउन अनुरोध गर्नुभयो । गोद्धकधाम ओझेलमा परेकाले अगाडी बढाउनु पर्ने, धनलक्ष्मी छाँगोलाई विकास गरिनुपर्ने, मुटुरोगीलाई उपचार सहयोग गर्नुपर्ने र बाँदरमुढेमा प्रतिक्षालय निर्माणको गर्नुपर्ने उहाँको सुझाव थियो ।
त्यस्तै, अपांगता समाज माडीका अध्यक्ष यमबहादुर अधिकारीले माडीका १५०० अपांगता भएकामध्ये ८०० जतिको मात्रै अपांगता कार्ड बनेको, अपांगता भएका यात्रुहरुले पाउनुपर्ने ५० प्रतिशत छुट माडी ठोरी रुटको सार्वजनिक बसमा नपाउने गरेको तथा अपांगता भएका ग र घ वर्गका नागरिकलाई स्वास्थ्य वीमा कार्यक्रममा समेट्न तथा योजनाका कामहरु समयमै पुरा गर्न पहल लिन अनुरोध गर्नुभयो ।
यसैगरी माडी–६ निवासी श्रीप्रसाद दवाडीले पर्यटकीय स्थलहरुमा प्रवेश शुल्क लगाउने व्यवस्था पुनर्विचार गर्न वा स्थानीय उपभोक्ताहरुबाटै उठाउने व्यवस्था गर्न सुझाव दिनुभयो । निकुञ्ज भित्रको सडक मर्मत र दुबैतर्फ झाडी फाँड्ने काम गर्न सुझाव दिँदै उहाँले प्रतिस्पर्धात्मक विधिबाट प्रधानाध्यापक नियुक्तिको प्रक्रिया थालेकोप्रति नगर कार्यपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । विगतमा परुई खोला थुनिएर बनेको प्राकृतिक तलाउ वा जलाधार क्षेत्र फुटाउनु गलत भएको उहाँको भनाई थियो ।
सार्वजनिक सुनुवाइमा उठेका सवालहरूको विषयमा माडी नगर प्रमुख तारा कुमारी काजी महतो र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले उत्तरित गर्नु भएको थियो । कार्यक्रममा नगरबासी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो । नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको सहजिकण पत्रकार एवं विश्वविद्यालयका अध्यापक समेत रहनुभएका सामाजिक परीक्षक देवनारायण शाहले गर्नुभएको थियो ।



