चितवन, ०१ श्रावण २०८३ — गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गरी २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्। मृत्यु भएका गैँडामध्ये दुई वटा करेन्ट लागेर मरेका छन् भने बाँकी २० वटा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ।
करेन्ट लागेर मरेका गैँडामध्ये एउटा चितवनको माडी क्षेत्रमा र अर्को नवलपरासी (सुस्ता पूर्व) को लोकाहा खोलानजिक फेला परेको थियो। माडीमा मध्यवर्ती क्षेत्र तथा नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा ती गैँडाको मृत्यु भएको जनाइएको छ।

थापामगरका अनुसार अन्य गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बच्चालाई बाघले आक्रमण गरी मारेका कारण, वृद्धावस्थालगायत प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जले गैँडाको संरक्षणलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन, गस्ती तथा चोरी–सिकार नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइरहेको जनाएको छ।



