चितवन खबर पोष्ट

सार्वजनिक सुनुवाइमा दलहरूको सुझाव वर्षा: सिंचाइ, स्वास्थ्य, शिक्षा र वन्यजन्तु व्यवस्थापनमा नगरको ध्यानाकर्षण

चितवन, ०२ श्रावण २०८३ — माडी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कर तथा वन्यजन्तु व्यवस्थापनलगायतका विषयमा नगरपालिकालाई सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का नगर सहसचिव मोहनराज पोख्रेलले भूमिगत सिंचाईको सट्टा सतही सिंचाईको योजना अगाडि बढाउन, मृगौला रोगीहरुको उपचारपूर्व स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न, ध्रुबे हात्तीजस्ता जंगली जनावर आउन रोक्न पाँचपाण्डवदेखि बगहीँसम्म पक्की संरचना बनाउन तथा बघौंडा अस्पतालको एक्स–रे र प्रयोगशालाको गुणस्तर सुधार गर्न सुझाव दिनुभयो ।

त्यस्तै, नेपाली कांग्रेस चितवन ३(ख) प्रदेश सभापति शोभाखर चापागाईंले निकुञ्ज भित्रको बाटो मर्मत गर्न, जंगली जनावरले गर्ने बालीनाली र जनधनको क्षतीमा राहत नभई क्षतीपूर्ति दिलाउने पहल गर्न, निकुञ्जभित्र ३३ के.भी.को (बैंकल्पिक) भूमिगत केबुल बिछ्याउने कार्यको फलोअप गर्न तथा बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएपनि शव स्टोर गर्नको लागि मर्चरी फ्रिज नरहेकाले पोष्टमार्टम सेवा प्रभावित भइरहेकाले सो को व्यवस्था गर्न सुझाव दिनुभयो ।

त्यसैगरी, नेकपा एमालेका नगर अध्यक्ष नारायण अधिकारीले नियमित रुपमा सार्वजनिक सुनुवाई गरेको, प्रदेशबाट माडीमा राम्रो बजेट पारेको, मासु र कृषि उत्पादनमा अनुदान थप गरेको तथा बेरुजु घटाएकामा धन्यवाद व्यक्त गर्नुभयो । बन्यजन्तु र मानवबीचको द्वन्द कम गर्न मेसजाली र फेन्समा ध्यान दिन, बगहीं बसपार्क व्यवस्थित गर्न, जंगलको बाटोमा रहेका झाडी फाँड्न तथा छाडा कुकुर (सडक कुकुर)हरुका कारण दुर्घटना र समस्या बढेकाले त्यसतर्फ व्यवस्थापन गर्न उहाँले सुझाव राख्नुभयो ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका नगर ईञ्चार्ज गिरिधारी सुवेदीले बाटो बनाउँदा नाला (पानीको निकाश) सहित बनाउन सुझाव दिनुभयो । स्कुलहरुमा बर्षे बिदा २० दिनको सट्टा एक साता दिए पुग्ने सुझाउँदै उहाँले सरकारी जागिर खाने सबै शिक्षक एवं कर्मचारीहरुले आफ्‌नो सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने, स्वास्थ्य वीमा कार्यक्रम निरन्तर रहनुपर्ने, जमीनको लाभ कर धेरै भएकाले घटाउनुपर्ने, कृषिमा अनुदान ५० प्रतिशतलाई बढाई ८० प्रतिशत पुर्याउनुपर्ने लगायतका सवाल र सुझाव राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर सचिव डिल्लिराम च्वाईंले डिजलको भाउ बढेसंगै बढेको कृषि यन्त्र र ट्रयाक्टरको भाडा डिजलको भाउ घट्दा किन नघटेको भन्दै प्रश्न गर्नुभयो । पतरे खोलामा रोकिएको पुल निर्माण कार्य कहाँ पुग्यो भन्ने सवाल गर्दै उहाँले भूमिगत सिंचाइको सट्टा सतही सिंचाईमा लगानी गर्न नगरपालिकालाई सुझाव दिनुभयो ।

सार्वजनिक सुनुवाइमा उठेका सवालहरूको विषयमा माडी नगर प्रमुख तारा कुमारी काजी महतो र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले उत्तरित गर्नु भएको थियो । कार्यक्रममा दलीय प्रतिनिधिहरुसंगै नगरबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो । नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको सहजिकण पत्रकार एवं विश्वविद्यालयका अध्यापक समेत रहनुभएका सामाजिक परीक्षक देवनारायण शाहले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया