खेल र खेलाडी पोष्ट

साकाको ह्याट्रिकमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डलाई विश्वकप २०२६ को कांस्य पदक

चितवन, ०३ श्रावण २०८३ — फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक तथा गोलवर्षा भएको प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ।

मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले पहिलो हाफदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै ४–० को विशाल अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै अग्रता दिलाएका थिए भने १८औं मिनेटमा एजरी कोन्साले हेडरमार्फत दोस्रो गोल गरे। त्यसपछि बुकायो साकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको सहज अग्रता दिलाए।

दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। कप्तान किलियन एमबाप्पेले ४८औं र ६६औं मिनेटमा दुई गोल गरे भने ब्राडली बारकोलाले ५४औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्‍याए।

तर इंग्ल्यान्डले दबाब झेल्दै पुनः अग्रता फराकिलो बनायो। ८७औं मिनेटमा पेनाल्टीमार्फत साकाले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टोलीको पाँचौं गोल गरे। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल फर्काए पनि त्यसको केहीबेरपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को ऐतिहासिक जित सुनिश्चित गरे।

यससँगै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान सुरक्षित गर्दै कांस्य पदक जित्न सफल भएको छ। यता, हारका बाबजुद फ्रान्सका कप्तान किलियन एमबाप्पेले दुई गोल थप्दै प्रतियोगिताको गोल्डेन बुट दौडमा आफ्नो दाबेदारी अझ बलियो बनाएका छन्। जारी विश्वकपमा उनको व्यक्तिगत गोलसंख्या १० गोल पुगेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार