काठमाडौं, २ मंसिर, २०८३ । थुनामा रहेका इनम सापकोटाको मोबाइल फोन प्रहरी नियन्त्रणमा रहेकै बेला सक्रिय भएको र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा ललितपुरको ज्वागल पुगेको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।
प्रहरीले झापाका ३१ वर्षीय सापकोटालाई असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउपछि मोबाइल फोन बन्द गरेर फरेन्सिक परीक्षणका लागि पठाइएको भए पनि असोज १६ गते बिहान मोबाइल पहिलोपटक सिंहदरबार क्षेत्रमा सक्रिय भएको रिपोर्टमा देखिएको छ ।
फरेन्सिक रिपोर्टअनुसार मोबाइल प्रधानमन्त्री कार्यालयबाट ज्वागलस्थित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको निवास नजिक पुगेको र त्यसपछि दरबारमार्ग हुँदै पुनः ज्वागल पुगेको देखिएको छ ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्री कार्यालयबाट मागिएपछि केही प्रहरी अधिकारी र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बुझाइएको थियो । प्रधानमन्त्री कार्यालयका असिम शाहले मोबाइल कुमार ब्यञ्जनकारको निवासमा पुर्याएको हुनसक्ने स्रोतको दाबी छ ।
मोबाइलमा रहेका उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्क र सन्देश मेटाउने प्रयास भएको हुनसक्ने आशंका गरिएको छ । सापकोटाविरुद्ध हाल सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ भने उनी प्रहरी हिरासतमा छन् ।











