माडीसहित देशभर श्रद्धा र उल्लासका साथ मनाइयो छठ पर्व

चितवन, ३० कार्तिक, २०८३ । चितवनको माडीसहित देशभर हर्षोल्लासका साथ मनाइएको चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ । पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म कठोर व्रत बसेका व्रतालुले पारण गरी पर्व समापन गरेका हुन् ।

छठ पर्वका अवसरमा माडीका विभिन्न नदी तथा जलाशयमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो । विभिन्न स्थानका छठी घाटमा भेला भएका व्रतालु तथा भक्तजनले विधिपूर्वक सूर्यदेव र छठी माताको पूजा आराधना गरेका थिए । नेपालको तराई, मिथिला तथा मधेस क्षेत्रबाट सुरु भएको छठ पर्व पछिल्लो समय तराईमा मात्र सीमित नरही हिमाल र पहाडका विभिन्न क्षेत्रमा समेत विस्तार भएको छ ।

अहिले देशभरका विभिन्न समुदायले श्रद्धा, निष्ठा र भक्तिभावका साथ यो पर्व मनाउँदै आएका छन् । परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै मनाइने छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई समेत जोड्दै आएको छ । माडीमा पनि यो पर्व परम्परागत रूपमा श्रद्धा र उल्लासका साथ मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया