हरिबोधनी एकादशीमा छरछरे धाममा भक्तजनको घुइँचो

चितवन, ४ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य एकादशी मेला सम्पन्न भएको छ । मेलामा माडीसंगै चितवन र वरपरका क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनले मेला भरेका थिए ।

मेलामा लोकदोहोरी गायिका सपना परियार र लोकगायक विनय न्यौपानेले सांगीतिक प्रस्तुति दिनुभएको थियो । माडी नगरपालिका र माडी–५ वडा कार्यालयको प्रवद्र्धनमा छरछरे मेला व्यवस्थापन समिति तथा छरछरे शिवालय मन्दिर धार्मिक सेवा समितिको आयोजनामा मेला सञ्चालन भएको हो ।

पर्वकै अवसरमा ब्रह्मपुरी शिवालय मन्दिर, नयाँपिपरिया राम मन्दिर लगायत विभिन्न गाउँठाउँबाट भजनकीर्तन र बाजागाजा सहित छरछरे महेश्वरीमा तोरण तारण समेत भएको थियो ।

हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी मनाउछन् । यस दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

तपाईको प्रतिक्रिया