कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डू ६१ रनले पराजित

काठमाडौं, २ मंसिर, २०८३ । कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटरमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे । उनले बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे ।

काठमाण्डूका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३० र सहान अराचिगेले २४ रन बनाए । चितवनका रिजन ढकालले ४ विकेट तथा उसामा मिरले ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले १–१ विकेट लिए ।

यस जितसँगै चितवनले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ । उक्त खेलको विजेता शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग भिड्नेछ ।

तपाईको प्रतिक्रिया