

माडी नगरपालिका १ कल्याणपुर डाँडागाउँमा स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वाइन टु वाटर नेपाल र माडीका सरकारी निकायहरुबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा वाइन टु वाटर नेपाल, माडी नगरपालिका, माडी नगरपालिका वडा न. १ पाण्डवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गर्दि मध्यवर्ती उपभोत्ता समितिबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार वाइन टु वाटर नेपालले नगद तथा सामाग्रीसहित ३५ लाख ६७ हजार ५२७ योगदान गर्ने छ । त्यस्तै, उपभोक्ता स्थानिय समुदायहरुले श्रमदान तथा नगद सहित ११ लाख ३३ हजार ५०७, माडी नगरपालिका बाट ६ लाख ८४८, गर्दि मध्यवर्ती उपभोत्ता समितिबाट १ लाख, माडी नगरपालिका वडा नं १ कार्यालयबाट रु १ लाख, पाण्डवनगर खानेपानी योजनाबाट १ लाख बराबरको १ हजार १ सय मिटरको पाइप सहयोग गर्ने सम्झौता भएको छ ।

कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई योजनाको लागि अनुमानित ५६ लाख ६९ हजार ९१० लागत लाग्ने कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोत्ता समितिका सचिव दुर्गा बहादुर सुनारले जानकारी दिनुभयो । योजना यहि भाद्र ७ गतेबाट सुरु भएको र आउदो चैत्र मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको सचिव सुनारले जानकारी दिनुभयो । सो खानेपानी योजनाबाट कल्याणपुरका ९८ घरधुरी लाभान्वित हुने जनाइएको छ । कार्यक्रमा कल्याणपुर डाडागाउँ खानेपानीका अध्यक्ष ज्ञान प्रसाद काफ्ले, नगरप्रमुख ठाकुर प्रसाद ढकाल र वाइन टु नेपालकी राष्ट्रिय कार्यक्रम व्यवस्थापक रोश्नी कार्की लगायतको उपस्थिति रहेको थियो ।
