वन-वातावरण पोष्ट

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक डाट गरी नियन्त्रणमा दिइएको हो ।

बाघलाई ५:५६ मा पहिलो तथा ६:३० मा दोश्रो डाट गरिएको थियो । करीब ८ देखि १० बर्ष उमेर रहेको सो बाघलाई हिजो नियन्त्रणमा लिई खोरमा राखिएको छ । हिँजो लगातार बर्षा भएकाले खोरमा थुनिएको बाघलाई कसरा लैजान नसेको टोलीले सो बाघ आज मौसममा केहि सुधार भएसंगै माडीकै सडकमार्गबाट कसरा लैजाने तयारीमा रहेको छ । नरभक्षी बाघ नियन्त्रणमा आएसंगै माडीका स्थानीयबासीहरु हर्षित छन् । बाघको डरका कारण केहि दिनदेखि राम्ररी निदाउन समेत नसकेका जंगल नजिकका स्थानीयहरु खुसी भएका हुन् । योसंगै केहि दिनदेखिको बाघ आतंक भने तत्कालकोे लागि हटेको छ । यस खबरको स्वदेश एफ.एमले ब्रेकिङ न्युजसहित पहिलोपटक प्रसारित गरेको थियो ।

बाघलाई नियन्त्रणमा लिन खटिएको ६ वटा हात्तीसहित नेपाली सेना लगायतको विशेष प्राविधिक टोलीले विगत एक सातादेखि बाघको खोजीकार्य तिब्र पारेको थियो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघलाई नियन्त्रणमा लिन खटिएका थिए । बाघ नियन्त्रणमा लिनका लागि सो टोलीले पाडो राखी रेकी गर्ने र राती त्यस पाडो खान बाघ आउँदा बाघलाई डाट गरी बेहोस बनाएर नियन्त्रणमा लिने तथा क्यामेरा ट्रयापिङ गर्ने लगायतको प्रयास जारी राखेको थियो ।

यसअघि, गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका जितबहादुर राईको बाघको आक्रमणबाट गत शुक्रबार मृत्यु भएको थियो । बिहिबार दिउसोदेखि हराइरहेको अवस्थामा राईलाई खोज्दै जाँदा स्थानीयबासीले शुक्रबार बिहानपख गोविन्देश्वर सामुदायिक वनमा उहाँको शव फेला पारेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार