स्वदेशपोष्ट विशेष

जितियाको अवसरमा माडीको बघौंडामा जितिया विशेष झम्टा कार्यक्रम सम्पन्न

आदिवासी थारु समुदायको महान पर्व जितियाको अवसर पारी शनिबार माडीको बघौंडामा जितिया विशेष झम्टा कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र थारु महिला सभा, क्षेत्र नं. १, माडीद्वारा सहआयोजित सो कार्यक्रममा माडीका सम्पूर्ण थारु गाउँहरुबाट जितिया झम्टा तथा अन्य थारु साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । त्यसैगरी घोंगी चिचर माछा लगायतका थारु परिकार र थारुका परम्परागत झाँकी प्रदर्शनी समेत गरिएका थिए ।

थारु कल्याणकारी सभा माडीका अध्यक्ष भीम प्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाकी नगर उपप्रमु्ख ताराकुमारी काजी महतो विशिष्ट अतिथि रहनुभएको थियो । शहीद कमल बिपिन स्मृति पार्क, बघौंडामा मध्याह्न १२ बजे सुरुवात भएको सो कार्यक्रमका सहयोगी संस्थाहरुमा माडी नगरपालिका, पाँचपाण्डब मध्यवर्ती उपभोक्ता समिति गर्दी, बघौंडा मध्यवर्ती उपभोक्ता समिति बघौंडा, सोमेश्वर सामुदायिक बन उपभोक्ता समिति बघौंडा र चुरे सामुदायिक बन उपभोक्ता समिति गर्दी रहेका थिए ।

यसैबिच, माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाललाई सम्मान गरिएको छ । साेहि कार्यक्रमको अवसरमा थारु कल्याणकारी सभाले उहाँलाई सम्मान गरेको हो । हाल नगर प्रमुखको जिम्मेवारीमा रहँदा तथा विगतमा तात्कालीन गर्दी गाउँ विकास समितिको अध्यक्षका रुपमा समेत थारु भाषा साँस्कृति र थारु जातिको सामुदायिक विकास, थारु सङ्ग्रहालय र थारु कल्याणकारिणी सभाको भवन निर्माण लगायतका क्षेत्रमा निरन्तर यागदान गरेकोमा ढकाललाई सम्मान गरिएको थारु कल्याणकारी सभा माडीले जनाएको छ ।
त्यस्तैगरी, थारु सङ्ग्रहालको निर्माण र संस्थापनामा निरन्तर योगदान गरेको भन्दै माडीका थारु अगुवा एवं शिक्षक कृष्ण चौधरीलाई पनि सम्मान गरिएको छ । त्यसैगरी गतबर्षको जितिया कार्यक्रममा नगद सहयोग गर्नुभएका शिवनारायण गुरौलाई कार्यक्रमको सन्दर्भमा प्रशंसा–पत्र प्रदान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया

ताजा समाचार