वन-वातावरण पोष्ट

माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु

माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु भएको छ । प्रायः बार्षिक रुपमा हुने गरेको बाघ गणनाको नयाँ संस्करणका रुपमा शनिबार एक औपचारिक कार्यक्रमबिच बाघ गणना अभियान सुरुवात भएको हो ।

माडीकाे अयोध्यापुरीस्थित शिवद्धारमा बाघ तथा त्यसको आहारा प्रजातिको सर्भेक्षणको सुरुवात तथा स्थानीय श्रोतव्यक्तिहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भई शनिबारदेखि बाघ गणना सुरुवात गरिएको हो । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीको अध्यक्षता तथा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदप्रसाद ढकाल, नेपाली सेनाको बटुक दल गणका कर्णेल समुन्द्र थापा, विश्व बन्यजन्तु कोष (डब्लु. डब्लु. एफ.)का वायोलोजिस्ट सविता मल्ल लगायतको सहभागिता रहेको थियो ।

यसअघिको सर्भेक्षणमा सोमेश्वर बन क्षेत्रमा बाघ तथा त्यसको आहार प्रजातिका २७ प्रजाति भेटिएको तथ्यांक रहेको छ । बाघ गणनाका लागि सोमेश्वर बन क्षेत्रलाई ६२ वटा ग्रिडमा विभाजन गरी २/२ किलोमिटरको बिचमा क्यामेरा ट्रयापिङ जडान गरिएको छ । प्राविधिकहरुको टोलीले यसको नियमित अनुगमन र सूचना संकलन गर्ने छन् । यस कार्यमा आवश्यकता अनुसार हात्तीको समेत प्रयोग हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार