विकास-निर्माण खबर पोष्ट

धानखेती: लागत बढ्याे तर मुल्य बढेन, माडीका किसान चिन्तित

धानखेतीको लागत निरन्तर बढिरहेपनि त्यसको मुल्य नबढ्दा माडीका धान उत्पादक किसानहरु चिन्तित भएका छन् । धान उत्पादनमा ज्याला लगायत मलखाद र ट्याक्टर, थ्रेसर, रिपर लगायका प्राविधिक साधनहरुको शुल्क निरन्तर बढिरहेपनि धानको बिक्री मुल्य भने बढेको छैन । १० बर्षअघि धानको बिक्रीदर क्विन्टलको करीब २ हजार देखि २२ सय रुपैंया रहेकोमा हालसम्म सोही मुल्य कायम रहेको हो । यसबाट धानखेती गर्ने माडीका किसानहरुमा लगातार निराशा पैदा हुँदै गएको देखिएको छ ।

किसानहरुले धान उत्पादन गरेसंगै बिक्री गर्न गल्ला व्यापारीकोमा लैजान छुट्टै भाडा तिर्नुपर्ने अवस्था छ । व्यापारीले धान खरिद गरेपनि कतिपय अवस्थामा नगद भुक्तान गर्ने नगरेको पीडा पनि किसानहरुले व्यहोरेका छन् । बर्षभर दुःख गरी उब्जाएको धानको मुल्य आशा गरे जति नपाएपछि धान खेती नै नगर्ने मनसाय बनाएको कतिपय किसानहरुले बताएका छन् । मल, बिउ महंगो रहेको तथा खे ती गर्न ज्यालादारीमा मान्छे लगाउनुपर्ने र त्यसमाथि मान्छे नपाइने तथा भनेको समयमा ट्याक्टर, थ्रेसर लगायतका साधन नपाउने भएकाले धानखेती प्रति किसानहरुको रुची घट्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया