

तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकमबाट माडीको बुलबुले कमलकुण्ड आमा समूहले बुल्बुलेमा सत्तल निर्माण कार्य सुरु गरेको छ । यसअघि सो आमा समूहको गत कार्तिक २७ गते सम्पन्न बैठकबाट पर्यटकीय महत्वको बुल्बुलेमा धार्मिक तथा पर्यापर्यटन विकास गर्न सत्तल निर्माण गर्ने निर्णय गरिएको थियो ।
गत तिहारमा माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर र जगन्नाथपुर क्षेत्रमा ३ दिनसम्म खेलिएको देउसी भैलोबाट कुल ७१ हजार रुपैंया संकलित भएको र ४ हजार खर्च भएकोमा बाँकी रहेको ६७ हजारको लागतमा सत्तल बनाउन लागिएको हो । मंगलबार सत्तल निर्माण सुरुवात भएकोमा जारी महिनाभित्र सत्तलको निर्माणकार्य पुरा गर्ने लक्ष्य राखिएको छ । सत्तलको निर्माणको पहिलो दिन मंगलबार महिला समूहका सदस्यहरुसंगै स्थानीयबासीहरुको सक्रिय सहभागिता रहेको देखिएको थियो ।

