

घरको छतबाट खसी दाहिने खुट्टा भाँचिएका माडी हरिनगर निवासी डिउ नारायण महतो उपचार खर्चको जाेहो गर्न सहयोगदाताको खोजीमा भौतारिनुपरेको छ ।

२०६९ सालमा घरको छतबाट खस्दा खुट्टा भाँचिएको उहाँ माडी नगरपालिका वडा नं. ६, हरिनगरमा करीब ६० बर्षकी आमा भदिया थारुको साहारामा संग बस्दै आउनुभएको छ । खुट्टा भाचिँदा चन्दा उठाएर खुट्टामा स्टील हालिएको भएपनि लामो समयसम्म सो स्टील निकाल्ने दोश्रो शल्यक्रियाका लागि खर्च नहुँदा महतोलाई समस्या परेको हो । हाल खुट्टामा रहेको स्टील निकाली स्टीलकै नयाँ गेंडी हाल्नुपर्ने भएपनि उपचार खर्चको अभावमा उहाँले बैशाखीको भरमा बाँच्नु परेको छ ।

एकम महिला समेत रहनुभएकी उहाँकी बृद्धा आमाले दिनभर गरेको ज्याला मजदुरीको भरमा हातमुख जोड्न बाध्य रहेको उहाँको परिवारको आफ्नो जग्गा, जमीन, घर केहि पनि नरहेको र अरुको अधिया गरी जीविकोपार्जन गर्नु परिरहेको हरिनगर निवासी धन बहादुर गायकले जनाउनुभयो । महतोको उपचारमा सघाउन चन्दा उठाउन माडी नगरपालिका वडा नं. ६ कार्यालयले जारी गरिदिएको परिपत्र बोकी उहाँहरु गाउँघर र बजारमा चन्दा उठाउँदै हिँडिरहनुभएको छ । महतोको उपचारमा सघाउन माडी नगरपालिकाले पाँच हजार रुपैंया दिने जनाएको भएपनि रकम प्राप्त भने भइनसकेको पीडित परिवारले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ ।
