

जारी आर्थिक बर्ष २०७५/७६ मा माडी नगरपालिका वडा नं. ९ ले १ करोड १० लाखका विभिन्न योजनाहरु सञ्चालन गर्दैछ ।
वडाको आर्थिक विकास शीर्षकमा ६ लाख ५० हजार रुपैंया बजेट विनियोजित छ । त्यसमध्ये दुग्ध सहकारीमा नपुग रकम १ लाख ५० हजार र आयआर्जन, सिप विकास तथा उद्यमशिलताका लागि ५ लाख रुपैंया विनियोजित रहेको छ । त्यसैगरी पुर्बाधार बिकास अन्तरगत ७७ लाख ५० हजार रुपैंया बजेट रहेकोमा कृष्णनगर, गणेशकुन्ज, गोविन्दबस्ती बाटो स्तरोन्नती, ग्रावेल, कजवे, कलभर्ट निर्माणमा ६२ लाख, सामुदायीक भवन मर्मत सम्भारमा १ लाख ५० हजार, बाँदरझुला कुलो मर्मत सम्भारका लागि ४ लाख र डिप बोरिङ्ग तथा खानेपानीमा १० लाख विनियोजित रहेको छ ।
वडा नं. ९को सामाजिक विकास शीर्षक अन्तरगत चर्पी निर्माणका लागि ५ लाख, कुसुमखोला र बाँदरझुलामा खानेपानी ट्याङ्की मर्मत सम्भारका लागि १० लाख र सरसफाई तथा स्वास्थ्य कार्यक्रमका लागि ६ लाख रुपैंया विनियोजित रहेको देखिन्छ । त्यस्तै, वातावरण विकास शीर्षक अन्तरगत भैपरी आउने विपद तथा तटबन्धनका लागि ५ लाख रुपैंया विनियोजित रहेकोछ ।
नेपालकै ठूलो वडाहरुभित्र पर्ने माडी नगरपालिका वडा नं. ९ मा माडी नगरपालिका, प्रदेश सरकार, साँसद क्षेत्र विकास कार्यक्रम र संघीय सरकारबाट पनि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । तर कुसुमखोला, प्याउली र बाँदरझुला लगायतका क्षेत्रहरु पनि समेटिने सो वडामा पुगेको बजेट वास्तविक आवश्यकताको अनुपातमा अति न्यून रहेको वडाबासीहरुको भनाई छ । (तस्वीर : वडाको योजना सार्वजनिकीकरण कार्यक्रम/फाइल फोटो)


