माडी
नगरपालिका-२, चिरौली गाउँस्थित ब्रह्मस्थानमा २४ घण्टे अखण्ड हरिनाम
संकीर्तन (अष्टजाम) सुरु भएको छ । चिरौली गाउँ समाजको आयोजनामा सोमबार
बिहान करीब १० बजेदेखि अष्टजाम सुरु भएको हो । चिरौली गाउँमा हरेक ३-३
बर्षमा अष्टजाम हुँदै आएकोमा यसपटक १७ औं पटक अष्टजाम मनाइरहिएको पुजा
व्यवस्थापन समितिले जनाएको छ ।
पूजा व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा एक संक्षिप्त कार्यक्रमबिच अष्टजाम सुरुवात
भएको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर
प्रसाद ढकालले रिबन काटी भजन गाउँदै नाचेर अष्टजाम पूजाको उद्घाटन
गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा माडी नगरपालिका वडा नं. २ का
वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, थारु कल्याणकारी सभा क्षेत्र नं. १, माडी
चितवनका अध्यक्ष भीम प्रसाद महतो तथा स्थानीय सामाजिक अगुवाहरु दिनकर पौडेल
र महेन्द्र महतोको विशेष आतिथ्यता रहेको थियो ।
मुख्यतः थारु
समुदायमा प्रचलन रहेको २४ घण्टासम्म निरन्तर अविराम भजन कीर्तन सहितको
पूजाआजा र धार्मिक अनुष्ठानलाई अष्टजामका रुपमा चिन्ने गरिएको छ ।




