मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा प्रदेशस्तरीय नमुना कार्यक्रमको रुपमा सुरुवात भएको चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलको प्रदेश नं. ३ का कृषि तथा भूमि व्यवस्था एवं सहकारी मन्त्री दावा दोर्जे लामाले अनुगमन गर्नुभएको छ ।
अनुगमन पश्चात सामुहिक खेती गरिरहेको सुर्योदय कृषि सहकारी संस्था लिमिटेड सम्बद्ध सेयर सदस्य कृषकहरुसंग कुराकानी गर्दै मन्त्री लामाले माडी कान्तिपुरको सामुहिक खेती उदाहरणीय कार्य भएको र यस कार्यमा प्रदेशसभाको तर्फबाट सक्दो सहयोग रहने जनाउनुभयो । तर सरकारी अनुदान र सहयोगको मात्रै मुख नताकी आफ्नो तर्फबाट पनि निरन्तर काम गरिरहन पनि उहाँको अनुरोध थियो । मन्त्री लामासंगै कृषि ज्ञान केन्द्र चितवनका प्रमुख र प्राविधिकको टोली, राजनैतिक एवं सामाजिक अगुवा र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यसैबिच, सो सामुहिक खेतीको अवलोकनका लागि आउँदो जेष्ठ २५ गते प्रदेश नं. ३ का दर्जनौं साँसदहरु कान्तिपुर आउन लागेका छन् । प्रादेशिक नमुना कार्यक्रमको अवलोकनका लागि प्रदेश साँसद घनश्याम दाहाल अविनाशको पहलमा साँसदहरु माडी आउन लाग्नुभएको माडी नगरपालिका वडा न ८ का वडाअध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।




