माडी (स्थानीय) खबर पोष्ट

वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय, नेता डि.आर. पौडेल

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनुभएका डि.आर. पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०३९मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिनुभएको थियो ।

२०३८ सालमा नेकपा (चौम) को सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । २०४८ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहनुभएका उहाँ अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिनुभएका उहाँ, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आउनु भएको थियो । बिगतमा लामो समय उहाँले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

२०५१ साल कार्तिक २१ गते मकवानपुर बहुमुखी क्याम्पसमा स्व. रुपचन्द्र बिष्ट र हालका शिक्षामन्त्री गीरिराजमणी पोखरेलको आतिथ्यतामा तात्कालीन अखिल नेपाल जनवादी युवा लीगका केन्द्रीय सदस्य गंगा बेल्बासेसंग उहाँको जनवादी विवाह भएको थियो । हाल उहाँका २ छोरी जागृति पौडेल र आकृति पौडेल रहेका छन् । उहाँका परिवारमा बुवा, आमा, एक भाई र सातजना दिदीबहिनी रहेका छन् ।

तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएर र पछि पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल रहनुभएका उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो । हाल उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यका रुपमा क्रियाशील रहनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस, रत्ननगरबाट चितवनवाट आईए र माडी माविवाट एसएलसी गर्नुभएका स्व. पौडेलले माडीक अर्का दिवंगत क्रान्तिकारी नेता दिवाकर भुषाललाई आफ्नो राजनीतिक गुरु ठान्दै सादा र सरल जीवनशैली अपनाउँदै आउनुभएको थियो । हृदयघात भई निधन हुनुपूर्व उहाँले दिवाकर स्मृति ग्रन्थ पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । उहाँको आज, २०७६ जेष्ठ ३१ गते बिहान ०६ः४५ बजे हृदयघातका कारण निधन भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार