माडी (स्थानीय) खबर पोष्ट

माडीको कल्याणपुर बजारमा प्रहरी चौकी पुनर्स्थापना हुने

माडीको कल्याणपुर बजारमा प्रहरी चौकी पुनर्स्थापना हुने भएको छ । चौकी पुनर्स्थापनाका लागि कल्याणपुर बजारमा प्रहरी चौकी भवन निर्माण थालिएको छ ।

हाल माडी नगरपालिका वडा नं. ४, खैरहनीमा रहेको सो चौकी कल्याणपुर सर्ने भएको हो । केहि बर्षअघि खैरहनी र सितलपुर क्षेत्रमा चोरी र डकैटीको घटना बढेसंगै कल्याणपुर बजारमा रहेको प्रहरी चौकी खैरहनीमा सारिएको थियो । कल्याणपुर प्रहरी चौकी भवनको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले शिलान्यास गर्नुभयो ।

कल्याणपुरसंगै माडीको टम्टास्थित सोमेश्वर प्रहरी चौकीमा समेत नयाँ भवन निर्माण हुन लागेको हो । कल्याणपुर र टम्टामा दुईवटा प्रहरी चौकी भवन करीब २ करोड ८५ लाखको बजेटमा ललितपुर कुसुन्तीका ठेकदार नेत्रबहादुर सिलवालले निर्माण गर्ने ठेक्का पाउनुभएको हो । दुईवटै भवन निर्माणको समयसीमा १ बर्ष तोकिएको छ ।

भवनको शिलान्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अन्य प्रहरी अधिकारीहरुसंगै ईलाका प्रहरी कार्यालय माडीका प्रमुख युवराज तिमिल्सिना र माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार