

माडी उपत्यकामा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बघौंडामा थारु साँस्कृतिक कला केन्द्र (कल्चर हाउस) निर्माण जारी रहेको छ । बघौंडा गाउँस्थित माडी भिलेज रिसोर्टले थारु साँस्कृतिक कला केन्द्र निर्माण गरिरहेको हो ।

कल्चर हाउसको निर्माणपश्चात माडी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थारु झम्टा, लाठी नाँच, मयुर नाँच आदिजस्ता परम्परागत थारु साँस्कृतिक प्रस्तुतीहरु देखाइने रिसोर्टको योजना रहेको छ । यसका लागि स्थानीय बघौंडा, ईनारबरुवा, पिपरिया, सिधुवा तथा वरपरका अन्य थारु गाउँका महिला र पुरुष समूहसंग सहकार्य गरिने रिसोर्टको सञ्चालक राम नारायण चौधरीले जानकारी दिनुभयो । करीब एक करोड रुपैंयाको लागतमा कल्चर हाउसको निर्माण कार्य जारी रहेको र आउँदो दशैंसम्ममा सम्पूर्ण निर्माणकार्य पुरा हुने माडी भिलेज रिसोर्टका सञ्चालक चौधरीको भनाई छ ।

करीब २०० जना क्षमताको सभाहलयुक्त सो कला केन्द्रको साजसज्जामा स्थानीय थारु समुदायको साँस्कृतिक पक्षलाई ध्यानमा राखिएको छ । करीब तीनबर्षअघि स्थापना भएको उक्त रिसोर्टले जलाशययुक्त स्वच्छ तथा शान्त वातावरणमा सुविधासम्पन्न कोठा, सभाहलसहित स्थानिय परिकारको सेवा प्रदान गर्दै आइरहेको जानएको छ ।
