माडीको बाँदरझुलामा हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ । युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा सञ्चालन भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा माडी नगर खेलकूद समितिका संयोजक रामबन्धु पोखरेल र वडाध्यक्ष शिवहरि सुवेदी लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितमा चितवन र पर्साका १८ वटा फुटबल समूहको सहभागिता रहेको छ । खेल उद्घाटन भएलगत्तै बसन्तपुर युनाइटेड क्लब र तमु ब्वाईजको ’बी’ टोलीबिच पहिलो खेलमा ३-० गोलअन्तर सहित बसन्तपुर युनाइटेड विजयी भएको छ ।
यता, माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलको दोश्रो दिनका खेलहरुमा चिरौली युनाइटेड क्लब, बुद्धज्योति युवा क्लब सितलपुर र आयोजक स्टार स्पोर्टस् क्लब बरुवाको ए टीम विजयी भएका छन् । पहिलो चरणका खेलहरु अन्तरगत आजको पहिलो खेलमा बिलिभर्स इस्टर्न चर्च बघौंडालाई ३-० ले पराजित गरी चिरौली युनाइटेड विजयी भएको हो । त्यसैगरी दोश्रो खेलमा बुद्धज्योति युवा क्लबले २–१ गोलअन्तरबाट ए. एफ. सी. अम्बावासलाई पाखा लगायो भने तेश्रो खेलमा आयोजक स्टार स्पोर्टस्ले ३–० गोलअन्तरबाटै सितलपुर फुटबल क्लबलाई पराजित गरेको हो ।




