माडी (स्थानीय) खबर पोष्ट

आइडिया फर नेपालले माडीमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने

गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने भएको छ ।

रिसोर्ट सञ्चालनका लागि सो संस्था र माडी नगरपालिकाबिच वडा नं. ५ स्थित मगोई नदी किनारको करीब ३५ बिगाहामा फैलिएको लामो चौर ४९ बर्षका लागि लिजमा लिने सम्झौता भएको छ । सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र आइडिया फर नेपालका तर्फबाट अध्यक्ष गोकर्ण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो र वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल तथा आइडिया फर नेपालका नेपाल निर्देशक श्रीमणी दवाडी साक्षीस्वरुप उपस्थित रहनुभएको थियो ।

हस्ताक्षर भएलगत्तै माडी नगरपालिकामा सम्पन्न पत्रकार सम्मेलनमा माडीका नगरप्रमुख ढकालले सन् २०२० को नेपाल भ्रमण बर्षलाई सहयोग हुने तथा माडीको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण सघाउ पुग्ने भएकाले सो परियोजना माडी नगरवासीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । हङकङमा मुख्यालय रहेको आइडिया फर नेपालले यसअघि मुक्तिनाथ केबुलकार निर्माणमा आधा हिस्सेदारी लगाउनुका साथै ठूला परियोजनाहरुमा लगानी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार