

हुँदै नभएको अनाथालयको नाउँमा चन्दा उठाउँदै हिँडेका दुईजना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । काठमाडौंको बौद्ध ठेगाना लेखिएको गौरव युवा एकता समाज तथा पीडित उद्धार सेवा नामको संस्थाको नाममा चन्दा उठाउँदै हिँडेका बुटवलकी २३ बर्षीया सर्मिला पराजुली र नुवाकोटकी ३० बर्षीया रीता लामालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरेको हो ।
उनीहरुबाट ५ ठेली चन्दा रसिदका साथ नगद करीब १ हजार रुपैंया बरामद भएको प्रहरीले जनाएको छ । संस्थाले अनाथालय सञ्चालन गरिरहेको भन्दै उनीद्वयले त्यहाँ रहेका बालबालिकाहरुको सहयोगार्थ चन्दा संकलन गरेको जिकिर गरेका थिए । नवलपरासीबाट चन्दा संकलन सुरु गरेका उनीहरु माडीको बसन्तपुर आइपुग्दा प्रहरीको आँखामा परेका हुन् । बरामद भएको रकम माडीको लक्ष्मीनिवासमा सञ्चालित नमुना छात्रबासलाई प्रदान गरिने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

