

ईलाका प्रहरी कार्यालय माडीले होटल तथा लजहरुमा सिसिटिभी राख्न तथा स्कुल तथा कलेजका पोशाकमा आएका विद्यार्थीहरुलाई होटलमा कोठा नदिन अनुरोध गरेको छ । माडीका होटल व्यवसायीहरुसंग अन्तरक्रियात्मक छलफल आयोजना गरी प्रहरी निरीक्षक हर्क विश्वकर्माले सो आग्रह गर्नुभएको हो । कार्यक्रममा माडीभरीका करीब २० जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा, बालबालिकाहरुलाई होटलको काममा नलगाउन, सबै कामदारहरुको तीनपुस्ते विवरण र आवश्यकता अनुसार पुलिस रिपोर्ट राख्न, होटलमा आउने पाहुनाहरुको परिचय खुल्ने कागजात र फोन नम्बर सहित अभिलेख दुरुस्त राख्न र साप्ताहिक रिपोर्ट प्रहरीलाई बुझाउन समेत अनुरोध गरिएको थियो । त्यस्तै, वेश्यावृत्ति वा यौनजन्य क्रियाकलाप नगराउन र सेवाको मुल्यसुची तथा होटलको होर्डिङ्ग बोर्ड सबैले देख्नेगरी राख्न पनि सचेत गराइएको प्रहरीले जनाएको छ ।

