देश-प्रदेश खबर पोष्ट

क्रसर प्लाण्ट राख्न समय लाग्ने भएसंगै माडीको बाटो कालोपत्रेमा थप ढिलाइ

निर्माण सामग्रीहरुको अभाव देखाउँदै माडीको बाटो कालोपत्रे गर्ने काम लम्ब्याउँदै आएको आशिष निर्माण सेवाले माडीमा पोर्टेबल क्रसर प्लाण्ट स्थापना गर्न लागेको छ ।

डिभिजन सडक कार्यालय चितवनको सिफारिसमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गर्नेगरी माडी नगरपालिकाले आशिष निर्माण सेवालाई अस्थायी क्रसर प्लाण्ट राख्ने इजाजत दिएको हो । करीब एक महिनामा जडान सकिने सो प्लाण्टबाट कंक्रिटजन्य निर्माण सामग्रीहरु तयार भएपश्चात मात्रै बाटो कालोपत्रेको काम सुरु गर्ने कम्पनीको योजना छ । तिहार पर्व लगत्तै माडीको मगोई खोला किनारमा थारु संग्रहालय नजिकै प्लाण्ट स्थापना गरिने आशिष निर्माण सेवा अन्तरगतको भरतपुर माडी ठोरी हुलाकी बाटोका कन्ट्रयाक्ट म्यानेजर रोहित भट्टराईले जनाउनुभयो ।

कम्पनीले माडीको रीउ पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको हो । कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको अभाव देखाउँदै कम्पनीले कालोपत्रेको काम लम्ब्याउँदै आएको छ । यसअघि माडी नगरपालिकाको क्रसर प्लाण्टबाट उत्पादन सुरु भएलगत्तै सोही सामग्रीको प्रयोग गरी बाटो कालोपत्रे गरिने भनिएको थियो । तर नगरपालिकाको क्रसरले उत्पादन सुरु गरिसकेको अवस्थामा ठेकदार पक्षबाट नयाँ प्लाण्ट स्थापनाको प्रक्रिया अगाडि बढाइएसंगै बाटो कालोपत्रेको काम थप केहि महिना पछाडी धकेलिने निश्चित छ । (प्रतिकात्मक फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार