

नेपालमा रहेका युरोपियन नागरिकहरु लिन चार्टर्ड जहाज काठमाडौं आउने भएसंगै माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइएको छ ।

माडी नगरपालिका वडा नं. १, द्रौपतिनगरमा ससुराली घरमा बस्दै आएका अष्ट्रियन नागरिक मार्कोस समर, उहाँकी श्रीमती बिष्णु तामाङ, छोरा लियाम समर-तामाङ र छोरी लिभिया समर-तामाङलाई उद्धार गरी काठमाडौं पठाइएको हो । नेपालस्थित अष्ट्रियन कन्सुलेटको औपचारिक आग्रहमा सो परिवारलाई स्थानीयबासी विश्वनाथ महतोको गाडीमार्फत उद्धार गरी काठमाडौं पठाइएको माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अष्ट्रियन परिवारसंगै भरतपुर-२२, पटिहानीमा रहेका ५ जना डच (नेदरल्याण्डबासी) नागरिकहरुको पनि उद्धार गरिएको वडाध्यक्ष पौडेलले इमेलमार्फत जानकारी दिनुभयो । उद्धार गरिएकाहरु फ्रेन्च दुतावासले चार्टर्ड गरेको जहाजमार्फत आइतबार बिहान ८ बजे फ्रान्सका लागि उड्ने व्यवस्था गरिएको कन्सुलेटको पत्रमा जनाइएको छ ।
