माडीको बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा शुद्ध खानेपानी वितरणका लागि भूमिगत पाइप बिछ्याउने कार्य जारी रहेको छ । तर जनताको घर खेत अगाडि कम्तीमा १ मिटर गहिराईबाट बिछ्याइएको खानेपानीको पाइप माडी नगरपालिकाको भवनमा भने भुइँमाथिबाटै लैजान लागिएको छ ।
माडी नगरपालिकाको भवन छेउमा पाइप बिछ्याउनुपर्ने ठाउँमा सेफ्टी ट्यांकी परेको भन्दै खाडल खन्न नमिलेकाले ट्यांकी माथिबाटै पाइप लैजानु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सोमनाथ ओझाले जनाउनुभयो । नगरपालिका कार्यालयले भवनभित्र खाल्डो खनेर लैजान अनुमती दिएपनि प्राविधिकहरुको राय अनुसार ट्यांकीमाथिबाटै पाइप लगिएको उहाँको भनाई छ ।
खानेपानीको पाइप बिछ्याउने क्रममा सम्बन्धित घरधनी वा जग्गाधनी आफैले कम्तीमा १ मिटर गहिरो नाला खनेका छन् । नाला खन्न नसक्नेहरुले जेसिबी वा मजदुरहरुको शुल्क तिरेर पाइप बिछ्याउन सहयोग गरेका छन् । तर नगरपालिकाले भने सडक छेउसम्मै सेफ्टी ट्यांकी बनाएकाले त्यसमाथिबाट पाइप लैजानुपरेको हो । आम सर्वसाधारणको भने घरको पिंढी वा अन्य संरचनाहरु फुटालेर खाडल खनी भूमिगत तरिकाबाटै पाइप बिछ्याइएको छ ।




