

स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहले चितवनका केहि अनलाइन मिडियाले पीत पत्रकारिताको उदाहरण पेश गरेको आरोप लगाउनुभएको छ ।
माडी क्षेत्रमा हालै स्थापित अर्कै रेडियोकी एक महिला पत्रकार स्वदेशको कार्यालयमा बर्षाका कारण रोकिनुपर्दा मध्यरातमा विवाद भएको घटनालाई अतिरञ्जना गरी केहि अनलाइनहरुले समाचार लेखेको शाहको जिकीर छ । त्यसैगरी सामाजिक सञ्जालहरुमा पनि घटनाको तोडमोड गरी नियोजित रुपमा पोष्ट गरिएको उहाँको भनाई छ । माडीका नगरप्रमुखलाई समेत बिनाकारण मुछेर तथा स्वदेशकर्मी कर्मचारीहरुको प्रतिष्ठामा आँच आउने गरी हल्लाकारिता गरिएको उहाँको कथन छ ।

भरतपुरपोष्ट, भण्डाफोर अभियान, क्लिकखबर लगायतका अनलाइनले समाचार प्रकाशित गरेकोमा केहिले हटाएका छन् । तर त्यसको लिंकहरु भने अझैपनि फेसबुकमा सेयर गरिएका छन् । यसप्रकारको हल्लाकारिता गर्ने मिडिया सञ्चालकहरु र पोष्ट, कमेन्ट गर्नेहरुबिरुद्ध साइबर क्राइमको प्रक्रिया सुरु गरिसकेको अध्यक्ष शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो । त्यसैगरी रेडियोकी स्टेशन प्रमुख अपेक्षा चौधरीले समेत घटनाबारे आफूलाई कहिँकसैले केहि नसोधी समाचार र स्टाटसहरु लेखेको स्पष्ट पार्नुभएको छ ।
