

लकडाउन सुरु भएसंगै रोकिन पुगेको माडीको हुलाकी सडक कालोपत्रे परियोजना तीन महिना बित्न लाग्दापनि सुचारु हुन सकेको छैन ।

बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन लागु भएसंगै गत चैत दोश्रो साताबाट निर्माणकार्य बन्द रहेको छ । निर्माण मजदुर एवं प्राविधिकहरु घरभित्रै रहनुपर्ने अवस्थाका कारण सडकमा काम गर्न नसकिने भन्दै ठेकदार पक्ष आशिष निर्माण सेवाले निर्माण साधनहरु माडीमै थन्काएर काम रोकेको हो ।

बनकट्टादेखि देबेन्द्रपुर खण्डको बाटो कालोपत्रे गर्न दोश्रोपटक थपिएको समयसीमा यही जेष्ठ मसान्तमा सकिँदैछ । यसअघि माडी नगरपालिकाले ठेकदार पक्षलाई लकडाउनकै बिचमा काम सुचारु गर्न आग्रह गरेकोमा गत बैशाख ४ गतेबाट काम सुचारु हुने भनिएको थियो । तर पछि मजदुर र प्राविधिकहरु जम्मा गर्न नसकिएको भन्दै ठेकदार पक्षले काम सुचारु गर्न असमर्थता जनाएको थियो ।

माडीको हुलाकी बाटोमा कालोपत्रे गर्ने कार्य रोकिएको भएपनि देशका कतिपय ठूला योजनाहरुको निर्माण जारी नै छ भने माडीभित्र केहि भित्री बाटोहरुमा कालोपत्रे निर्माण प्रक्रिया चलिरहेको छ । सरकारले हाल जोर बिजोरको नियम लागु गरी लकडाउन खुकुलो बनाइसकेको अवस्थामा माडीको हुलाकी बाटो कालोपत्रे कार्य तत्कालै सुचारु गराउन सरोकारवाला निकायहरुको ध्यान पुग्न जरुरी देखिन्छ ।