माडीको गोपालनगरमा गएसाँझ २२ बर्षीय युवक गौरव थापाको रहस्यमय मृत्यु भएकोमा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका सन्दर्भमा प्रारम्भीक सोधपुछका लागि मृतक थापासंगै पोखरीबाट माछा निकालेका र खाजा खाएका अन्य युवाहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जनाउनुभयो । पोखरीबाट माछा निकालेर युवाहरुको एक समूह साँझपख खाजा खान बसेको र त्यस क्रममा केहि विवाद भएको र पछि करीब ७ बजे थापाको शव पोखरी छेउमा भेटिएको स्थानीयबासीहरुको भनाई छ ।
शव भेटिएलगत्तै प्रहरीलाई खबर भएकोमा प्रहरीले घटनास्थलको मुचुल्का उठाई बसन्तपुरस्थित बघौंडा अस्पतालमा ल्याएर शवको मुचुल्का उठाएको थियो । त्यसपछि राती करीब ११:३० बजे शवलाई पोष्टमार्टमका लागि भरतपुर पठाइएको थियो । पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भएपछि मात्रै मृत्युको कारण र अन्य विवरण जानकारी हुन सक्नेछ । घटनालगत्तै परिवार र गोपालनगर गाउँसंगै माडीका मत्स्यपालक कृषकहरु शोकमा डुबेका छन् ।




