स्वदेशपोष्ट विशेष

चेपाङ तथा सुकुम्बासी समुदायद्वारा मध्यवर्ती समितिको कार्यालयमा ताला

माडीको चेपाङ तथा सुकुम्बासी समुदाय चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबिरुद्ध आन्दोलित हुँदै मध्यवर्ती समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

उधारो र झुठो आश्वासन चाहिँदैन, सुकुम्बासीहरुलाई झुक्याउन पाइँदैन भन्ने नारासहित माडीको चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएको हो । माडी ७, ८ र ९ निवासी सुकुम्बासी परिवार तथा चेपाङ समुदायले ७ बुँदे माग पेश गर्दै निकुञ्जको स्थानीय अंगका रुपमा रहेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।

उनीहरुद्वारा उठान भएका मागहरुमा बाँदरझुलामा बाटो बनाउन पाउनुपर्ने, खेतीपाती कार्यमा ट्रयाक्टर प्रयोग गर्न पाउनुपर्ने र बाँदरझुला बस्तीमा मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको समूह गठन गर्न पाउनुपर्ने रहेका छन् । त्यसैगरी, माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायको आवास निर्माणमा निकुञ्जले गरेको अवरोध हट्नुपर्ने, वागमती प्रदेश सरकारद्वारा निर्माणाधीन माडी ९ को नमुना चेपाङ बस्तीमा बाटो निर्माण कार्य पुरा गर्न पाउनुपर्ने लगायतका माग समेत उठान गरिएको छ ।

यसैबिच, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी भएसंगै सो कार्यालयको कामकाज प्रभावित भएको छ । समितिले आन्दोलनरत पक्ष र निकुञ्ज प्रशासनबिच आउँदो आइतबार दिउँसो ३ बजे वार्ता गराउने प्रयास गरिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया