माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले आर्थिक श्रोतको अभाव देखाउँदै तीनजना शिक्षकहरुलाई ‘जिम्मेवारी मुक्त’ गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयमा अध्यापनरत शिक्षकहरु कृष्ण सापकोटा, यदु पौडेल र नवराज ढकाललाई तलब सुबिधा दिन सक्ने अवस्था नरहेको भन्दै श्रावण १ बाट लागु हुनेगरी सेवामुक्त गरिदिएको हो । विद्यालय सञ्चालन नहुँदा कुनैपनि शीर्षकमा शुल्क उठाउन नसकिएकाले आन्तरिक स्रोतबाट नियुक्त शिक्षकत्रयलाई बेतलबी बिदामा राख्नु परेको विद्यालयका प्रधानाध्यापक कृष्ण शर्माले जनाउनुभयो ।उहाँहरूलाई यसबारे मौखिक जानकारी गराइएको प्रधानाध्यापक शर्माको भनाई छ ।
विद्यालय सुरुबाटै घाटामा सञ्चालित रहेकोमा लकडाउनका कारण शुल्क उठ्न बन्द भएसंगै तलब दिनमात्रै करीब १३ लाख रुपैंया नपुग भएको प्रधानाध्यापक शर्माले जनाउनुभयो । यस समस्याबारे माडी नगरपालिकामा छलफल गरेपनि कुनै समाधान नआएपछि विद्यालयलाई आवश्यक पर्दा बिना सर्त र बिना बिज्ञापन पुनर्बहाली गर्ने गरी शिक्षकहरुलाई बेतलबी बिदामा राखिएको विद्यालयको भनाई छ । सेवामुक्त हुने शिक्षकमध्ये यदु पौडेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण दवाडीका आफ्नै ज्वाईं हुनुहुन्छ ।

यसैबिच, विगत लामो समय देखि विद्यालयमा कार्यरत शिक्षकहरुलाई विना जानकारी निष्काशन गरेको भन्दै बिप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनले बिरोध गरेको छ । शिक्षकहरुलाई पूर्व जानकारी बेगर खाली हात निष्कासन गरेको भन्दै अखिल नेपाल शिक्षक संगठनले वक्तव्यमार्फत पुनर्बहालीको माग गरको हो ।



