माडी (स्थानीय) खबर पोष्ट

बैंकल्पिक सिकाईलाई प्रभावकारी बनाउन माडीका सबै लिडर विद्यालयहरुमा कल सेन्टर स्थापित

नियमित कक्षाहरु बन्द रहँदा बैंकल्पिक सिकाईलाई प्रभावकारी बनाउन माडीका सबै लिडर विद्यालयहरुमा कल सेन्टर स्थापना गरिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा विद्यालय र विद्यार्थीबिच सम्पर्क तथा सिकाई प्रक्रिया सहजिकरणका लागि माडीका लिडर विद्यालयहरुमा कल सेन्टर स्थापना भएको हो । माडीका सोमेश्वर मा.वि. बरुवा र माडी मा.वि. बसन्तपुरमा २/२ वटा तथा जनकल्याण मा.वि. कल्याणपुर, कृष्णनगर मा.वि. कृष्णनगर, जनजीवन मा.वि. खरकट्टा, खैरहनी मा.वि. खैरहनी र आधारभूत विद्यालय बाँदरझुलामा १/१ वटा कल सेन्टरहरु स्थापना भएका हुन् । कल सेन्टर शनिवारसहित हरेक दिन बिहान ६ बजेदेखि साँझको ६ बजेसम्म सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।

लिडर विद्यालयले स्वाध्ययन वा रेडियो पाठशालामार्फत अध्ययन गरिरहेका फिडर विद्यालयका विद्यार्थी समेतलाई टेलिफोनका माध्यमबाट सिकाई प्रक्रियामा सघाउने कार्यदेश पाएको माडी नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव पुष्प ढकालले जनाउनुभयो । आज (असोज १ गते)देखि रेडियो पाठशालाको क्रेडिट गणना समेत सुरु भएको भन्दै उहाँले जिम्मेवारीपूर्वक पठनपाठन गर्न सबै विद्यार्थी र शिक्षकहरुमा आग्रह गर्नुभयो । कल सेन्टरमा शिक्षक ड्युटीमा रहने र विद्यार्थीहरुले फोनमार्फत सिकाइ सहयोग पाउन सक्ने व्यवस्था गरिएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार